• काठमाडौं : भारतले ६५४ मेगावाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ ।

    भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे–अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट बिजुली चौबिसै घण्टा (अरटीसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यसअघि दिइएको अनुमतिको म्याद आज सकिँदै थियो ।

    नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय र टनकपुर–महेन्द्रनगरबाट ५४ गरि ६५४ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । प्राधिकरणले यही पुस १७ गतेदेखि आउँदो चैत १७ गतेसम्म बिजुली आयातको अनुमति पाएको हो । चैत १८ गतेदेखि भदौ १५ गतेसम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हिजो विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरि आरटीसी मोडमा बिजुली आयात गर्न पाउने गरि अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए।