• काठमाडौं : गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण भएको छ । आजसम्म १ सय ६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारीकोसंयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले नवयुवा आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ का आधारमा अहिलेसम्म १ सय ६९ जनाको वर्गीकरण गरेको हो ।

    प्रशासन कार्यालयले वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिश पठाउने र त्यही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने छ ।