• काठमाडौं : नेकपा (एमाले) का नेताहरूले ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् ।

    आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताए । सार्ववजनिक संरचनाहरूमा आगजनी र तोडफोड गर्ने ‘जेन–जी’ पुस्ताको चाहना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको उनले आशङ्का गरे । घटनाको सत्यतथ्य छानबिन गरी तोडफोड र आगजनीमा संलग्नहरूलाई आवश्यक कारबाही गर्न एमाले सचिव विष्टको माग छ ।

    उनले भने, ‘प्रतिनिधिसभाका निवर्तमान प्रतिनिधि र नेताहरूले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्‍यौँ । धेरैजसो ठाउँमा संरचनाहरू ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरू समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौँ । यो अवस्था निकै दुःखदायी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने जेन–जी पुस्ताको यो चाहना थिएन होला । यसमा को को शक्तिहरू घुसे र के कारणले यस्ता घटनाहरू घटे भन्ने विषयमा छानबिन गर्नुपर्छ ।’

    सचिव विष्टले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। युवा पुस्ताको चाहना अनुसार राजनीतिक दलहरू परिमार्जन हुने कुरालाई सबैले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिए ।