• काठमाडौं : ‘जेन जी’ पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने भनेको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन् ।

    १३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् । त्यही प्रदर्शनबारेमा फेसबुकमा लेखेर मेयर शाहले आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।

    ‘जेन जी’ पुस्ताको प्रदर्शन भोलि काठमाडौं माइतीघर मण्डलमा बिहान ११ बजे हुनेछ । सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार उनीहरूले विद्यार्थीको पोशाक लगाएर, परिचय पत्रसहित कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले प्रदर्शनका लागि अनुमति दिएको छ ।

    यसैबीच नेकपा एमालेको विधान महाधिवेशनमा बोल्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेन जी’ पुस्ता विधि, कानूनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको बताएका छन् ।