• काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको राष्ट्रवादी छवि पछाडिका मुख्य दुई कारण छन् । एउटा केही वर्ष अगाडि भारतले लगाएको नाकावन्दीको डटेर सामना गरेको र अर्को भारतले अतिक्रमण गरेको लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालको नक्सा जारी गरेको विषय लिएर ओलीलाई राष्ट्रबादी नेताको रुपमा लिइने गरिएको छ ।

    ओलीलाई भारतीय दबाब सामु नझुकेर चीनसँग मित्रवत सम्वन्धलाई प्रगाढ बनाएको भन्दै चिनियाँ पक्षधर भन्ने आरोप पनि लाग्ने गर्छ । चिनियाँ संस्थापन पक्ष पनि नेपालका अन्य नेताहरुको तुलनामा ओलीलाई ‘आफ्नो मान्छे’ ठान्ने गरेको देखिन्छ । तर, भारत भ्रमणको पूर्व सन्ध्यामा रहेका ओलीलाई समेत पत्तो नदिएर चीन र भारतले नेपाललाई ‘बाइपास’ गरेर फेरि लिपुलेक नाका प्रयोगबारे सहमति गरेका छन्।

    चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा मंगलबार यो सहमति गरिएको हो । चीनसँग भएको सहमतिबारे भारतको विदेश मन्त्रालयले १२ बुँदे विज्ञप्ति जारी गरेको छ, जसको नवौँ नम्बरमा, ‘दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्,’ भन्ने लेखिएको छ

    नेपाली भू–भाग लिपुलेकभन्दा करिब १७ किलोमिटर पश्चिममा रहेको लिम्पियाधुरा नेपाल, चीन र भारतसँगको त्रिदेशीय विन्दु हो ।

    तर, भारतले यहाँ सामरिक संरचना निर्माण गरेको छ । साथै नेपाली भूमि अतिक्रमण गरी लिपुलेक नाका हुँदै तिब्बत जाने सडक बनाएको छ । यो भारतको राजधानी दिल्लीबाट चिनियाँ नाका पुग्ने सबैभन्दा छोटो बाटो हो। यसअघि पनि यी दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाउँदै आएको थियो।

    प्रधानमन्त्री केपी शर्मा ओली सांघाई को(अपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन केही दिनमा चीन जाँदै छन्। त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ भने त्यहाँबाट फर्किएर भदौ अन्तिममा भारत भ्रमणमा जाँदैछन् । मोदीसँग सम्वन्ध सुधारको पक्षमा रहेका ओली ती दुवै भ्रमणमा लिपुलेक र लिम्पियाधुराको सिमा विवाद उठाउने पक्षमा नरहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् ।

    तर, मंगलबार ती दुई देशबीचको सम्झौतापछि आफ्नो ‘राष्ट्रवादी’ छवि जोगाउन पनि ओलीले केही न केही बोल्नै पर्ने अवस्था सृजना भएको छ । उनी बोल्न नचाहे पनि सम्भवतः संचारमाध्यमले उनलाई त्यसबारेमा निरन्तर प्रश्न गरिरहनेछन् र ती प्रश्नहरुबाट उनी भाग्न पाउने छैनन्, भाग्न सक्ने छैनन् । यो मामिलामा कडा आपत्ती जनाउँदा भारत र चीन दुवै देश रिसाउन सक्ने र आपत्ती नजनाउँदा देशभित्रबाट विरोधको सामना गर्नु पर्ने अवस्थामा ओली पुगेका छन् ।

    सम्भवतः यति जटिल कुटनीतिक अवस्थाको सामना ओलीले यस अघि गर्नु परेको थिएन, भारत रिसाउँदा चीन खुसी हुने अवस्था थियो । तर, यो घटनामा नेपाललाई चेप्दै उनीहरु दुई मिलेकोले त्यसलाई कुटनीतिक रुपमा आपत्ती जनाउँदै नेपालको राष्ट्रघात हुन नदिन ओलीले गम्भिर कुटनीतिक चाल चल्न सकेनन् भने त्यो उनी स्वंय र उनको पार्टीलाई मात्र होइन, देशकै लागि पनि गम्भिर क्षति हुनेछ ।