• काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसका लागि नभई आमनागरिकका लागि हुनुपर्ने बताएकी छिन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

    पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने उल्लेख गरिन्। उनीले नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने बताइन् ।

    भण्डारीले समृद्धिको मार्ग अरूको मोडल अनुशरण गर्ने मात्र नभई आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रूपमा विश्लेषण गरेर नै तय गर्नुपर्नेमा जोड दिइन्।

    उनीले भनिन्, ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो । नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् । तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ । हामीले के बिर्सिनु हुँदैन भने समृद्धि केवल मुठीभर मानिसहरूका लागि होइन, आमनागरिकका लागि हुनुपर्दछ ।’

    पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन, विकासको नयाँ युगमा प्रवेश गरिसकेको भन्दै लगानी गर्न आह्वान गरिन् । समृद्धि अब सपना नभई सङ्कल्प बन्नुपर्ने उनीले बताइन् ।