• काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवाको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ ।

    केहीबेर अघि बसेको परिषद्को बैठकले मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

    यस्तै बैठकले मनसुनजन्य विपद् क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय बढाउन जरुरी रहेको निष्कर्ष पनि निकालेको छ । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक भट्टले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जति बेला पनि दुर्घटनाको जोखिममा पर्ने निष्कर्ष निकालेको जानकारी गराए ।

    उनले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे । नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको भट्टको भनाइ छ ।