• काठमाडौं : पर्सि आइतवारसम्म मनसुन कमजोर हुने भएको छ । केही ठाउँमा वर्षा भए पनि धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उज्जवल उपाध्यायले बताए । उनका अनुसार आइतवार बेलुका गण्डकी प्रदेश र त्यसको आसपासमा ठूलो वर्षाको सम्भावना छ । सोमवार मनसुन थप सक्रिय भएर मङ्गलवारदेखि देशभर वर्षाको सम्भावना रहेको उपाध्ययले बताए ।

    आज दिउँसो सिन्धुपाल्चोक, सोलुखुम्बु, कैलालीलगायतका जिल्लामा ठूलो पानी परेको र देशका धेरै ठाउँमा सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाखाले जनाएको छ ।

    यसैबीच यस वर्ष पनि धान रोपाइँको मुख्य समयमा तराई मधेशमा कम पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको अद्यावधिक अनुमान अनुसार असार मध्यदेखि असोज मध्यसम्ममा मधेश र कोशी प्रदेशका दक्षिणी भागमा कम वर्षा हुने भएको हो ।