• कास्की : चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा पुगेको हो । उसले क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।

    चर्च ब्वाइजको जितका लागि अञ्जन विष्ट र अनन्त तामाङले एकरएक गोल गरे । खेलको पहिलो हाफमा अग्रता बनाएको भए पनि त्यसलाई कायम राख्न नसक्दा विभागीय टिम नेपाल पुलिस क्लब प्रतियोगिताबाटै बाहिरिएको छ। खेलको २५औँ मिनेटमा पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई गोलमा परिणत गरेका हुन् ।

    तर चर्च ब्वाइजले खेलको ७७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । उसका लागि अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । निर्धारित ९० मिनेटमा बराबारी गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८औँ मिनेटमा अनन्त तामाङले गोल गरेपछि चर्च ब्वाइज २-१ ले विजयी भएको हो ।

    भोलि एपीएफ क्लब र धरान फुटबल क्लबबीच खेल हुनेछ ।