• काठमाडौं : दोलखाका बुथ कब्जा भएका आधा दर्जन बढी स्थानमा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

    आयोगले दोलखामा स्थलगत अवलोकनमा पठाएको जाँचबुझ गर्न गठित समितिले बुथकब्जा भएको स्थानमा पुनः मतदान गर्ने निष्कर्ष निकालेको थियो ।

    सोहि अनुसार आयोगले आइतबार बेलुका बसेको बैठकले पुनः मतदान गराउने निर्णय गरेको हो । दोलखाको बैतेश्वर, तामाकोशी जफे, सैलुङ र मेलुङकालगायतका १० केन्द्रमा स्वच्छ र निष्पक्ष चुनाव नभएको निष्कर्षसहित पुनः मतदान हुने निर्वाचन आयोग स्रोतले जनाएको छ ।

    विभिन्न स्थानमा बुथ कब्जा भएको भन्दै दोलखाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले उजुरी दिएका थिए ।

    उजुरी पछि सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको समिति जाँचबुझका लागि दोलखा गएको थियो ।