• काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।

    उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।

    अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।

    अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

    तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । उनको साथबाट त्यो रकम बरामद होला भन्ने अनुमान नभएको अख्तियारका एक अधिकृतले बताए ।

    अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ र त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ ।

    ३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।

    संस्कृति मन्त्रालयका उपसचिव ६ लाख रुपैयाँ घुससहित पक्राउ