• काठमाडौँ : सरकारले नेपाल रेडक्रस सोसाइटीमा पुनः तदर्थ समिति गठन गरेको छ । मन्त्रिपरिषद्को (बुधबार) को बैठकले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल सोसाइटीका पूर्वउपाध्यक्ष हुन् । 

    तदर्थ समितिको उपाध्यक्षमा विष्णुराज नेपाल र राधा नेपाली, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णगोपाल लागेजु, उपमहामन्त्रीमा मनोजकुमार थापा र भगवती शर्मा नियुक्त भएका छन् ।सो समितिलाई आगामी तीन महिनाभित्र अधिवेशन गराउने म्यान्डेट दिइएको एक मन्त्रीले जानकारी दिए ।

    रेडक्रसको विधानअनुसार ०७५ मै तत्कालीन समितिको पदावधि सकिएको थियो । पछि एक वर्ष थपेर ०७६ सम्म कार्यकाल थप्ने निर्णय भयो । तर, नेतृत्वले त्यसपछि पनि अधिवेशन गर्न नसकेपछि ०७७ को साउनमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गरेको थियो ।

    तर, सो समितिले पनि अधिवेशन गराउन नसकेपछि सरकारले पुनः तदर्थ समिति गठन गरेको हो ।समाज कल्याण परिषद् ऐन, ०४९ अनुसार गैरसरकारी संस्था भङ्ग भएको तीन महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्ने व्यवस्था छ ।

    ‘अघिल्लो समितिले अधिवेशन गर्न नसकेपछि पुनः यो तदर्थ समिति गठन गरिएको हो, यसले आगामी तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्नेछ,’ ती मन्त्रीले भने ।