• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप ८५९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा ११ हजार ४ सय ५८ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा उपत्यकामा मात्र उक्त संख्या नयाँ संक्रमण देखिएको बताएका हुन् । उनका अनुसार यसरी थपिने संक्रमितमा काठमाडौँबाट ६९८, ललितपुरबाट ७९ र भक्तपुरबाट ८२ जना छन् । हिजोमात्रै ६१८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    यसरी उपत्यकाका सहित शुक्रबार मुलुकभरबाट अहिलेसम्मकै धेरै दुई हजार २० जना कोरोना भाइरसका संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ४३ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार यसै अवधिमा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसरी अहिलेसम्म कारोनाबाटै ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।