• काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै दुई हजार २० जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट २ हजार २० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार विगत २४ घन्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । त्यसैगरी अहिले देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना र बाँकी होम आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता गौतमले बताएका छन् ।

    यसै अवधिमा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यसरी अहिलेसम्म कारोनाबाटै ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ११ हजार ४ सय ५८ वटा नमूनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै अहिले क्वारेन्टिनमा रहनेको संख्या ७ हजार ७ सय ३७ जना पुगेको छ ।