• काठमाडौं । नेपालमा पछिल्लो घण्टाको अवधिमा थप १ हजार २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जानकारी दिएको छ । मन्त्रालयको शनिबारको कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्या बारे जानकारी दिएका हुन् । यीसँग नेपालमा संक्रमितको संख्या अहिलेसम्म ५३ हजार १२० पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार २४ घण्टामा थप ८ सय ५२ जना निको भइ डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कुल संक्रमितमध्ये ३७ हजार ५२४ जना कोरोनामुक्त भएका छन् । यो निको हुनेको दर ७० दशमलव ६ प्रतिशत हो ।

    त्यसैगरी शनिबार एकैदिनमा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३३६ जना पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या हाल आएर १५ हजार २६० पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ६ हजार १५३ र संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन् । त्यस्तै २४ जनाको भेन्टिलेटरमा र १६० जनाको आइसीयूमा उपचार भइरहेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन् ।