• काठमाडौं । विगत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा मात्रै यो अहिलेसम्मकै धेरै संख्या हो । यसरी थपिनेमा संक्रमितमा काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको कोभिड–१९ अपडेटमा जानकारी दिएका हुन् । हिजोमात्र ५ सय ७२ जनामा संक्रमण देखिएको थियो ।

    प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका सहित मुलुकभरबाट १४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २१ जना छ ।

    त्यसैगरी यस अवधिमा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको मन्त्रालयले बताएको छ ।