• काठमाडौं । विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना छन् । यस अवधिमा देशभरिबाट १२ हजार ४७३ वटा नमूनाको पीसीआर परीक्षण भएकामा उपत्यकामा मात्र ४ सय ८ जना संक्रमित भेटिएका हुन् । हिजो शुक्रबार उपत्यकामा ४ सय ५४ जना संक्रमित भेटिएका थिए ।

    मन्त्रालयको शनिबारको कोभिड–१९ ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकासहित देशभरबाट १ हजार ४१ जना कोरोनाबाट संक्रमित भएको बताए । यीसँगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ । यो कुल संक्रमितको ६० प्रतिशत हो । त्यसैगरी विगत २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन् ।

    त्यसैगरी २४ घण्टाको अवधिमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएसँगै यसरी हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।