• काठमाडौं । शुत्रबार काठमाडौँ उपत्यकामा थप ४ सय ५४ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले तीमध्ये काठमाडौँमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएको बताएका हुन् । उनका अनुसार मुलुकभरबाट १३ हजार ६ सय ८० वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । जसमध्ये उपत्यकाबाट मात्र ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकामा भदौ १८ गते बिहीबार ४ सय ४५ जनामा कोरोना भेटिएको थियो ।

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा उपत्यकाका सहित मुलुकभरबाट १ हजार ३५९ जना संक्रमित थपिएका छन् । यीसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार २३६ पुगेको छ । त्यस्तै अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २५ हजार ५६१ पुगेको मन्त्रालयले बताएको छ । शुक्रबारमात्र थप १३ सय ५४ जना कोरोनामुक्त भएका छन् ।

    त्यसैगरी हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ पुगेको छ । जसमध्ये १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ जना भएको मन्त्रालयले बताएको छ ।

    अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।