• काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट थप १ हजार ३५९ जना संक्रमित थपिएको पुष्टि गरेका हुन् । जसमध्ये ४६४ महिला र ८९५ पुरुष छन् । यो अधिलेसम्मकै धेरै संख्या हो । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको प्रवक्ता गौतमले बताए । । उनका अनुसार यस अवधिमा १३ हजार ६३८ जनाको पिसिआर परीक्षण भएको थियो । भदौ १८ गते १ हजार २२८ जनामा संक्रमण पुष्टि भएको थियो ।

    त्यसैगरी यसै अवधिमा थप १३ सय ५४ जना कोरोनामुक्त भएसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २५ हजार ५६१ पुगेको मन्त्रालयले बताएको छ ।

    मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ पुगेको छ । जसमध्ये १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ छन् । त्यस्तै अहिले देशभरि क्वारन्टीनमा ६ हजार ५६१ जना छन् ।

    पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको । यीसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।