• काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संख्याबारे पुष्टि गरेका हुन् । जसमध्ये ५९६ पुरुष र ३ सय ३ जना महिला छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार यस अवधिमा ११ हजार १२९ वटा नमूनाको पीसीआर परीक्षण सम्पन्न भएको थियो ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र २९८ जना छन् । तीमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । आइतबार उपत्यकामा मात्रै ४ सय २९ जना संक्रमित थपिएका थिए ।

    मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ सय ८८ जना कोरोनामुक्त भई घर फर्किएसँगै अहिलेसम्म २१ हजार ४ सय १० जना घर फर्किसकेका छन् । त्यस्तै १७ हजार ८ सय २२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । मुलुकभरका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना छन् ।

    त्यसैगरी सोही अवधिमा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २२८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।