• काठमाडौं । उपत्यकामा आइतबार ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा काठमाडौं उपत्यकाबाट मात्र ४ सय २९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

    प्रवक्ता डा गौतमका अनुसार काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जना संक्रमित भएका हुन् ।

    मन्त्रालयका अनुसार उपत्यकामा ४२९ सहित मुलुकभरबाट एकै दिनमा १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यीसँग नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । यस अवधिमा २६७ जना डिस्चार्ज भएर घर फर्किएसँगै अहिलेसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।