• काठमाडौँ । नेपालमा शनिबार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । जसमध्ये ६ सय ४२ जना पुरुष र २ सय ४२ महिला छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको प्रवक्ता डा. गौतमले बताए ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनामुक्त भएका छन् । यीसँगै २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेको मन्त्रालयले बताएको छ ।

    मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ५ सय १६ जनाको पिसिआर परीक्षण भएको छ । यसरी हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना रहेको छ ।

    शनिबार थप १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँग नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या अहिलेसम्म २०७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।