• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमण हुनेमा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरका ५४ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसअघि भदौ ११ गते उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।

    उपत्यकाका यीसहित विगत २४ घण्टामा मुलुकभरबाट ९२७ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको शुक्रबार कोभिड–१९ अपडेटमा प्रवक्ता डा. गौतमले बताएका छन्।

    उनका अनुसार यसै अवधिमा थप १ सय ६९ जना घर फर्किएपछि अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् ।