• काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसरी मृत्यु हुनेहरुमा ९ पुरुष र २ जना महिला र रहेका छन् । मन्त्रालयका अनुसार भक्तपुरकी ५३ र मोरङकी ४६ वर्षीया महिला छन् । त्यस्तै कैलालीका ४५ र ५० वर्षीय, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौँका ५१ वर्षीय र बाराका ४१ र ४६ वर्षीय पुरुषहरु छन् । यीसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७५ पुगेको मन्त्रालयले बताएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभरमा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको बुधबारको कोभिड –१९ ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ । यस अवधिमा ३८५ जना संक्रमित निको भएसँगै हालसम्म कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको प्रवक्ता गौतमले बताए ।