• काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या बुधबारसम्म ३४ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट ८८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा १३ हजार २५३ वटा नमूनाको पीसीआर परीक्षण भएको बताएका छन् ।

    बुधबारको कोभिड–१९ मिडिया ब्रिफिङमा प्रवक्ता गौतमले मुलुकभरबाट थप ३८५ जना डिस्चार्ज भएको बताए । यीसँगै हालसम्म कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ ।

    मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ पुगेको छ । यीमध्ये ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६ हजार २८ जना होम आइसोलेसनमा छन् । त्यसैगरी नेपालमा अहिलेसम्म कुल ६ लाख ३५ हजार २५२ जनाको पीसीआर परीक्षण भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।