• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको बताए । उनका अनुसार मृतकहरु काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ त्यस्तै सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । मंगलबारमात्रै मुलुकभरबाट ८५५ जना संक्रमित थपिएका छन् । त्यस्तै यस अवधिमा थप ३ सय १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यीसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

    अहिले १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये ८ हजार ५ सय ८१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ भने होम आइसेलेसनमा ५ हजार ६ सय ६९ जनाको उपचार भइराखेको मन्त्रालयले बताएको छ ।