• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका गरी थप ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरु काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिला छन् । यीसँगै अहिलेसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा सोही अवधिमा देशभरबाट ७४३ जना कोरोना संक्रमित थपिएको प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । यीसहित नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । उनका अनुसार अहिले कुल संक्रमित मध्ये १३ हजार ७ सय २५ जनाको उपचार भइरहेको छ । त्यसमध्ये ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा बसेका छन् ।

    मन्त्रालयका अनुसार यस अवधिमा थप १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कुल १८ हजार ८०६ संक्रमित निको भएर घर फर्किएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले बताएको छ ।