• काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेहरुमध्येकी सुनसरीकी ६ वर्षीया बालिका हुन् भने अर्का ६७ वर्षीय पुरुष छन् । त्यस्तै पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

    त्यसैगरी बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट संक्रमित भई मृत्यु हुनेको संख्या १४६ पुगेको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. गौतमले बताए । गत भदौ ५ गते मुलुकभरमा संक्रमणका कारण ११ जना ज्यान गुमाएका थिए ।