• काठमाडौं । विगत पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै १ हजार १६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मंगलबारको नियमित कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । सो अवधिमा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए ।

    मन्त्रालयका अनुसार सोही अवधिमा ८५ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । अहिले देशभरि १० हजार ५६३ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै क्वारन्टीनमा १३ हजार ९२६ जना रहेका छन् ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउने संंख्या ११४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।