• काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु हुनेहरु काठमाडौंकी ५८ वर्षीया महिला, मोरङका ६० वर्षीय पुरुष र रौतहटका ३२ वर्षीय पुरुष रहेको बताएका छन् । यीसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

    सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । सो अवधिमा ११ हजार ५२० वटा नमूनाको परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

    त्यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । त्यस्तै देशभर ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ पुगेको छ ।