• काठमाडौं । आइतबार उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । तीमध्ये काठमाडौंका १२६, ललितपुरका ३८ र भक्तपुरका ८ जना छन् । यसरी पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ ।

    मन्त्रालयको आइतबारको कोभिड–१९ अपडेटमा मुलुकभरबाट ४४१ जना कोरोना संक्रमित थपिएको प्रवक्ता डा. गौतमले बताए । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।

    त्यसैगरी पछिल्लो २४ घन्टामा थप १ सय ३४ जना डिस्चार्ज भएका छन् । यीसँगै निको हुनेको संख्या १७ हजार ३ सय २५ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ । त्यस्तै १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।