• काठमाडौं । विगत २४ घण्टामा ६ सय ४१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट आइतबार ६ सय ४१ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । सो अवधिमा १२ हजार २ सय ४७ को पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले बताए ।

    त्यसैगरी पछिल्लो २४ घन्टामा थप १ सय ३४ जना डिस्चार्ज भएका छन् । यीसँगै निको हुनेको संख्या १७ हजार ३ सय २५ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ । त्यस्तै १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा काठमाडौं, पर्सा, रौतहट, मोरङ र महोत्तरी छन् । संक्रमित नभएका जिल्ला मनाङ, मुस्ताङ, संखुवासभा, डोल्पा र हुम्ला रहेको मन्त्रालयले बताएको छ ।

    नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।