• काठमाडौँ । काभ्रे स्थायी घर भएकी ५० वर्षीय महिलाको किस्ट अस्पतालमा सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु पश्चात उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए । उनमा निमोनिया तथा छातीको संक्रमण रहेको र त्यसकै उपचारका लागि उनी साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

    त्यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा अरु चार जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

    पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।