• काठमाडौं । वीरगन्जमा शुक्रबार मृत्यु भएकी एक २० वर्षीया युवतीमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि शुक्रबार राति गण्डक अस्पताल ल्याइएकी वीरगन्ज–२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो ।

    उनलाई आफन्तले अन्य अस्पतालले भर्ना लिन नमानेपछि अन्तिममा गण्डक अस्पताल पुर्‍याएका थिए । शनिबार बिहान १ः३० बजे पुर्‍याए पनि उपचारका क्रममा २ बजेतिर उनको मृत्यु भएको हो ।

    त्यसपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण पुष्टि भएको वीरगन्जस्थित गण्डक कोरोना अस्पतालले जानकारी दिएको छ । अस्पतालमै रहेको युवतीको शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ। यीसहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।