• काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा एक काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । गत १८ गते कोरोना पुष्टि भएकी उनमा पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी हुन् ।

    त्यसैगरी पर्सा वीरगन्ज महानगरपालिका–३ छपकैयाका ७४ वर्षीय वृद्धको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको प्रवक्ता गौतमले बताए । मधुमेह तथा दमका रोगी उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

    अर्का मोरङ विराटनगर–९ बस्‍ने ५८ वर्षीय पुरुषको पनि साउन २३ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए । यसरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरबाट ३७८ जना कोराना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । सोही अवधिमा थप ४९९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार २०६ जना रहेको सरकारी तथ्यांकमा देखिएको छ ।