• काठमाडौँ । बिहीबार थप १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिनमा संक्रमित पुष्टि हुनेको ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

    प्रवक्ता डा. देवकोटाका अनुसार बिहीबार विभिन्न जिल्लाहरु धनुषा २९, झापा २५, महोत्तरी १७, दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका छन् ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण ललितपुरका ५६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । अब नेपालमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । त्यसैगरी निको हुनेको संख्या १ सय ८७ पुगेको छ । वीरगन्जस्थित नारायणी अस्पतालबाट थप चार जना निको भएपछि कोरोना मुक्त हुनेको संख्या बढेको हो ।

    अहिलेसम्म नेपालमा पीसीआरबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण गरिसकिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताएका छन् ।

    मन्त्रालयको तथ्याङ्ककअनुसार अहिले देशभरि ८६,०५७ व्यक्ति क्वारन्टीन र ८५० जना आइसोलेशन रहेका छन् ।