• काठमाडौँ । सोमबार दिउँसो थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको हो । यसअघि आजै ७२ जनामा संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ ७ जना संक्रमण देखिएको बताएका हुन् ।

    उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमशः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

    कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनको संख्या नेपालमा ४ पुगेको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को संक्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।

    त्यसैगरी आज २५ जना कोरोना जितेर घर फर्किएका छन् । आज डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको संख्या ११२ जना पुगेको छ ।