• काठमाडौँ । नेपालमा बिहीबार फेरी थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४ सय ५३ पुगेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा ९ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार झापाका ८ जना पुरुषहरु १७ देखि ५५ वर्ष समूहका छन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । त्यसैगरी रुपन्देहीका १ जना २७ वर्षका पुरूष हुन् ।

    संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    यसअघि अघि आजै १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

    बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चारजना ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४९ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या तीन पुगेको हो ।

    हालसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।