• काठाडौँ । नेपालमा थप २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४२७ पुगेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा १८ पुरुष र ७ जना महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । उनका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै ३ देखि ४८ वर्ष समुहका छन् । संक्रमित सबैको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको छ ।

    कोरोना भाइरसको संक्रमण अहिलेसम्म सबै प्रदेशका ३८ वटा जिल्लामा देखिएको छ भने संक्रमित भएका मध्ये ३५८ पुरुष र ६९ महिला छन् ।

    त्यसैगरी बुधबार विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत ८ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ४५ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट हालसम्म दुई जनाको भने मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ ।