• चिप्लेढुङ्गा । कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिएकी छिन् । उनले बाँकीको रिपोर्ट केही दिनमा आउने बताइन् ।

    यसैबीच कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । एघार दिनअघि भारतको हैदराबादबाट आउनुभएका नेपालीेलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले पाँच प्रकारका औषधि सेवन गरिरहेका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो । उनको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल पठाएको थियो । शुक्रबार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।