• लम्की । कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरिएको हो ।

    समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको उपसंयोजकमा सामाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्ला, सबै वडाध्यक्ष, अगुवा महिला तथा सञ्चारकर्मी, टीकापुरका प्रहरी प्रमुखलगायत सदस्य छन् ।

    नगरप्रमुख तपेन्द्र रावलले अब छाउपडी प्रथा सामाजिकरूपमा कुप्रथा मात्र नभएर कानूनीरुपमा दण्डनीय अपराधसमेत भएकाले नगरपालिकाले यसलाई कार्ययोजना बनाई नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो । नगरउपप्रमुख विष्टले नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरणका लागि चाल्ने कदममा साथ दिन नगरवासीलाई अनुरोध गर्नुभयो ।

    वडा नं १ का अध्यक्ष गङ्गाराम आचार्यले परिवर्तनको सुरुआत आफँैबाट गर्नुपर्ने बताउनुभयो । वडा नं २ का अध्यक्ष प्रकाश बुढाले वडाले नै आफ्ना जनतालाई सम्झाइबुझाई छाउपडी गोठ भत्काउन लगाउने बताउनुभयो । नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले छाउपडी प्रथाजस्ता कुप्रथा हटाउन सबै दलहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुरका अध्यक्ष खड्क शाहले नगरपालिकाले छाउपडी प्रथाविरुद्ध गर्ने अभियानमा आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो । काँग्रेसका नगर सभापति धनराज उपाध्यायले महिनावारी भएका बेला घरमै बस्न मिल्छ भनेर जनतालाई चेतना जगाउन सक्नुपर्ने बताउनुभयो ।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले कानूनले समेत दण्डनीय भनेर मानिसकेको छाउपडी प्रथाको नियन्त्रणमा नगरपालिकाले सबैको साथ चाहेको बताउनुभयो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमराज भट्टले कानूनले दण्डनीय अपराध मानिसकेको छाउपडी प्रथा हटाउन प्रहरीले सबै कानूनी प्रक्रिया अपनाउने बताउनुभयो ।

    महिला अभियन्ता चन्द्रावती शर्माले आफूहरुले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाका विभिन्न वडामा छाउपडी गोठ भेट्टाएको बताउनुभयो । नगरपालिकाका वडा नं २, ७, ८ र ९ मा अहिले पनि छाउगोठ देख्न सकिन्छ । यहाँ अहिले पनि महिला महिनावारीको समयमा चार दिन गोठमै बस्ने गर्दछन् । रासस