• बुटवल ।

    गुल्मीको मदाने गाउँपालिका वडा नम्बर सात भनभनेबाट रुपन्देहीमा आएर विभिन्न पेशा व्यवसायमा आबद्ध भनभनेलीहरुले भनभने (गुल्मी ) सम्पर्क समाजमार्फत त्यहाँको दिपक माविमा उच्च माध्यामिक तह सञ्चालका लागि तीनलाख एकतिस हजार चार सय सैतिस रुपैया विद्यालयका प्राचार्य ताराबहादुर राउतलाई सांसद दीनेश पन्थीमार्फत हस्तान्तरण गरिएको छ । साथै भनभनेमा रहेको धार्मिक स्थल अनुष्कामा रहेको दोस्रो स्वर्गद्वारी भनेर चिनिने मन्दिरको संरक्षण सम्बद्र्धनका लागि यसका संरक्षक पण्डित मुरलीधर पन्थीलाई चालिस हजार हस्तान्तरण गरिएको छ । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको चौंथो साधारण सभा तथा ‘भनभने महिमा’ स्मारिकाको बिमोचन कार्यक्रममा पन्थीले जनप्रनिधि सच्चिन आवश्यक रहेको बताएका हुन् ।


    सो अवसरमा सांसद पन्थीले जनप्रतिनिधिप्रति जनता खुशी नभएको भन्दै अब सच्चिनु पर्ने अवस्था आएको बताएका छन् । गुल्मी दुई नम्बर क्षेत्र प्रदेश ख बाट निर्वाचित पन्थीले जनतालाई जनप्रतिनिधि देख्दा ग्लानी नहुने अवस्था सृजना गर्नुपर्ने बताए । मुलुकले विभिन्न आन्दोलन छिचोल्दै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको र संघियता कार्यन्वयन चरणमा रहेकोले यसलाई परिणाममुखी बनाउनका लागि राज्यका तीनवटै तहबाट निर्वाचित जनप्रतिनिधिहरुले इमान्दारपूर्वक काम गर्नुपर्ने उनको भनाई छ । पन्थीले प्रदेश र स्थानीय तहले सोचे अनुरुप राजस्व संकलन र आन्तरिक श्रोत परिचालन गर्न नसक्दा कतिपय अवस्थामा सीमित बजेटबाट काम गर्नुपर्ने भएकोले शिक्षा, स्वास्थ्य र धर्म संस्कृति संरक्षणमा यस्ता खालका सामाजिक संघ संस्थाको महत्वपूर्ण भूमिका रहनेसमेत बताए । पछिल्लो समय शहरतिर बढ्दो बसाइ सराइलाई लक्षित गर्दै गाउँमा पनि अवसरहरु सिर्जना गरि रोजगारीको बातावरण बनाउनु पर्ने पन्थीको भनाई छ ।
    भनभनेको सांस्कृतिक धार्मिक शैक्षिक र त्यहाँको भु–अवस्थितिलाई समेटेर तयार पारिएको ‘भनभने महिमा’ नामक पुस्तकको सांसद दिनेश पन्थी, वडा अध्यक्ष काँशी बहादुर बोहोरा र दिपक माविका प्राचार्य ताराबहादुर राउतले संयुक्त रुपमा बिमोचन गरेका थिए । पुस्तकले समेटेका विषय वस्तुमाथि प्रधान सम्पादक विष्णु घर्तीले स्पष्ट पारेका थिए । पुस्तकमा भनभनेबाट विभिन्न पेशा व्यवसायमा आबद्ध भएका ब्याक्तित्वहरुले भनभनेको विभिन्न कोणबाट चर्चा परिचर्चा गरेका छन् । भने यसको सम्पादक मण्डलमा रहेर प्रकाश पन्थी बुद्धिराम पराजुली र कमल पन्थीले सहयोग गरेका छन् । यसै अवसरमा समाजले थप एकसय बिस जनालाई आजीवन सदस्यता प्रमाणपत्र पनि वितरण गरेको छ । साधारण सभामा अध्ययक्ष प्रेमचन्द्र पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विष्णु घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    ऋषि भट्टराई