

-
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ । पैँतालिसौँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भविष्यमा त्रिविले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी आफूलाई ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा स्तरोन्नति गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले त्रिविले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी तथा विश्वबजारमा प्रतिस्पर्धी बनाउने खालका रहेको उल्लेख गर्दै भन्नुभयो, “सेमेष्टर प्रणाली लागू गर्ने, विद्यार्थीले रुचाएका विषय सञ्चालन गर्ने, राष्ट्रिय आवश्यकता र अर्थतन्त्रका प्राथमिकताअनुरुपका विषय सञ्चालन गर्ने, विज्ञान तथा प्रविधिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नेलगायतका विषय तथा विधागत विधिकरण कार्य त्रिविका समयसापेक्ष रहेका छन् ।”
सहकुलपति पोखरेलले दूरशिक्षा, क्रेडिट ट्रान्सफरको व्यवस्थालगायतका नवीनतम कामले त्रिविमा विद्यार्थी बढ्नेसमेत बताउनुभयो । “सबै कार्यक्रममा उच्च र उत्कृष्ट गुणस्तर कायम गरी विद्यार्थीको आशा र भरोसाको केन्द्र बन्नका लागि त्रिविले अनुसन्धानात्मक, सिर्जनात्मक तथा नवप्रवर्तनात्मक कदम चाल्न ढिला गर्नु हँुदैन”, उहाँले भन्नुभयो, “उच्च शिक्षामा ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने त्रिविले अनुकरणीय भूमिका प्रदर्शन गरी अरुलाई पनि सिकाउनुपर्दछ ।”
उहाँले दीक्षित भएका विद्यार्थीलाई विश्वविद्यालयबाट सिकेका ज्ञान, सीप मुलुकको विकासका लागि लगाउनसमेत आग्रह गर्नुभयो । “मुलुकको स्वाधीनता, सार्वभौमसत्ता, राष्ट्रियता, स्वाभिमानका पक्षमा राज्यले चाहेका बेला योगदान गर्न सदा तत्पर हुनुपर्दछ”, उहाँको भनाइ थियो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सङ्कल्प पूरा गर्न दीक्षित विद्यार्थीले मन, वचन र कर्मले दृढ भएर लाग्नुपर्दछ ।”
उहाँले शिक्षा क्षेत्रलाई सेवामूलक बनाउँदै लैजाने तथा उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने जस्ता कुरा संविधानले नै नीतिनिर्देश गरेकाले अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरण, निजी तथा सहकारीका लगानीको नियमन गर्दै सेवामूलक बनाउनेतिर केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उच्च शिक्षामार्फत दक्ष, योग्य र उत्पादनशील नागरिक विकास गरी देशको विकास र समृद्धिको यात्रालाई सहज र सफल बनाउन अग्रसर हुनुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले भर्खरै शिक्षा नीति–२०७६ जारी गरिएकाले सो नीतिले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्दै आर्थिक सामाजिक रुपान्तरणको जगका रुपमा शिक्षालाई बनाउने बताउनुभयो ।
“सार्वजनिक शिक्षा प्रणालीको सवलिकरणमार्फत शिक्षा प्रणालीप्रति जनताको विश्वास पुनः आर्जन गर्ने दिशामा नीति केन्द्रित रहेको छ”, उहाँले थप्नुभयो, “नीतिले शिक्षाको विकासमार्फत देशलाई समृद्ध र जनतालाई सुखी र खुशी बनाउनेछ ।”
त्रिविको पुनःसंरचना, उच्च शिक्षाको सुधारको प्रमुख विषय नीतिमा समेटिएको भन्दै त्यसले उच्च शिक्षामा संरचनागत, संस्थागत, कानूनी परिवर्तन गरी विश्वस्तरको नागरिक तयार गर्ने उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । मन्त्री पोखरेलले सार्वजनिक विद्यालय अध्यापन गर्ने स्थायी शिक्षकसँग शिक्षाशास्त्रको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र रहे पनि नतिजामा अपेक्षाकृत सुधार हुन नसकेकाले त्रिविले नीतिमा रहेको प्राज्ञिक र पेशागत डिग्रीलाई एक अर्काबाट छुट्टउने कुरालाई लागू गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले त्रिविले सञ्चालन गरेका शैक्षिक कार्यक्रम अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट रहेको बताउनुभयो । उहाँले अहिलेको परिवेशअनुसार प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि त्रिविले गुणस्तरमा थप सुधार गरेर जाने बताउनुभयो ।
उहाँले त्रिविका अनुसन्धान केन्द्रमार्फत हुने काम राम्रो भएको भन्दै भविष्यमा ती केन्द्रलाई सरकारको विषय विज्ञ (थिङ्क ट्याङ्क)का रुपमा विकसित गर्ने बताउनुभयो । उहाँले त्रिविलाई नमूना विश्वविद्यालय बनाउनका लागि नै त्रिवि भिजन–२०३० ल्याइएको उल्लेख गर्दै त्रिविले व्यावसायिक, सीपमूलक र बजारमुखी शिक्षा दिने बताउनुभयो ।
“राष्ट्र तथा विश्वबजारले माग गरेअनुसार सञ्चालन गरेका कार्यक्रमलाई एकातिर परिमार्जन गर्दै लैजानु पर्नेछ भने अर्कातिर मागअनुसार नयाँनयाँ कार्यक्रम सञ्चालन गरी उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको सङ्ख्यालाई न्यूनीकरण गर्दै जानुपर्नेछ”, उहाँले भन्नुभयो । ढाका विश्वविद्यालय, बङ्गलादेशका उपकुलपति प्रा डा मोहम्मद अख्तरुज्जमानले दीक्षित भएका विद्यार्थीले देश र समाजका लागि योगदान गर्नुपर्ने बताउनुभयो ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको प्राङ्गमा भएको दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका १० हजार १८३ विद्यार्थी दीक्षित भएका थिए । शिक्षामन्त्री पोखरेलले ती विद्यार्थीलाई दीक्षित गराउनुभएको थियो । सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।
समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।
सो समारोहमा उहाँले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक÷पुरस्कार प्रदान गर्नुभएको थियो । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थिति भएपछि शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गर्नुभएको थियो । रासस
News Desk 0 response बिहिबार, पुस ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


