• काठमाडौं ।

    नेपाल बायु सेवा निगम करोडौं रुपैयाँ घाटामा हुँदा पनि यसको ब्यवस्थापनमा त्यहाँको नेतृत्व लागेको पाईएन । उल्टो निगमलाई घाटा हुने काममात्र गरेर अहिलेका अध्यक्ष मदन खरेलले निगम डुवाउने योजना बनाएको मन्त्रालयकै निष्कर्ष छ । पटक पटक प्रधानमन्त्री तथा पर्यटनमन्त्रीले निर्देशन दिँदा पनि प्रभावकारी काम हुन सकेको छैन ।
    मन्त्रालयलाई ढाट्ने
    मासिक प्रगति विवरण तथा भावी योजनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमासमेत निगम नेतृत्वले मार्चदेखि जापानको नारिता उडान गर्ने भन्दै मन्त्री योगेश भट्टराईलाई भुलाउने प्रयास गरेको थियो । निगमले नारिता उडानको योजना कायमै रहेको बताएपछि मन्त्रालयका अधिकारीहरुले निगमले लेखेको पत्र देखाउँदै निगम अध्यक्ष मदन खरेलको प्रतिवाद गरेका थिए ।
    तर, निगमले अहिले घाटाको गन्तव्य ओसाका उडान भने गरिरहेको छ । पर्यटन मन्त्रालयले पनि गत असारमा जापानको नारिता विमानस्थलमा उडान गर्नकै लागि नेपाल एयरलाइन्सलाई सहजता खोज्दै हवाई सम्झौता पुनरवलोकन गरेको थियो ।
    ओसाका उडानकै विषयमा निगमको ६१ औं वार्षिक उत्सव समारोहमै प्रधानमन्त्री केपी शर्मा ओलीले घाटाको गन्तव्यममा किन उडान भनेर प्रश्न गरेकका थिए । तर, निगमका कार्यकारी अध्यक्ष खरेलले जबरजस्ती नारिताको सट्टा ओसाका उडान सुरु गरेका थिए ।
    आन्तरिक ब्यवस्थापन अलपत्र
    खरेलको नियुक्ति हुँदाका बखत नेपाल बायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा ए ३२० र एक ए ३३०–२०० बिमान उपलब्ध थिए । त्यसको केही दिन पछि दोश्रो ए ३३०–२०० समेत आई जम्मा ४ बटा बिमान भएको अवस्थामा पनि अन्तर्राष्ट्रिय उडानका थप गन्तब्यहरु सुनिश्चित गरि उडान संख्या, गुणस्तर र निगमको आय आर्जनमा कुनै प्रकारको प्रगति भएको छैन । निगमले ए ३३०–२०० जस्तो लामो दुरीको लागि उपयुक्त जहाजलाई छोटो दुरीको बढी प्रतिष्पर्धी भाडा दर भएको गन्तब्यमा उडाइ राखेको छ । राम्रो मुनाफा भएमामात्र छोटो दुरीमा उडाउन मिल्ने जहाज नियमित रुपमै छोटो दुरीमा सञ्चालन गरिनुले निगमलाई एक बर्षमै करोड घाटा भएको देखिन्छ । यसको कारण खरेलले स्पष्ट पारेका छैनन् । निगममा आन्तरिक उडानका लागि रहेका ८ वटा बिमानहरु मध्ये अधिकांश बिमान ग्राउण्डेड रहेको छ । कुनै बिमान त सन् २०१२ देखि नै ग्राउण्डेड रहेका छन् । तर, यी बिमान उडान योग्य बनाउन सामान्य पहल पनि अघि सारिएको छैन । तिनै नउडेका जहाजहरुको मर्मत र बिमामा करोडौं रुपैयाँ खर्च गरेको देखिन्छ । मर्मत तथा सञ्चालन लागतको अनुपातमा आय नहुने स्थिति रहेको भए ती जहाजहरुको बिक्री वा अन्य कुनै किसिमले ब्यवस्थापन गर्न सकेका छैनन् ।
    जहाज अब्यवस्थित
    निगमसँग रहेका एमए ६० र वाई १२ (चिनियाँ) जहाजहरु अधिकांश समय ग्राउण्डेड छ । ती जहाजहरुको पाटपूर्जा तथा मर्मतमा ध्यान नपुगेको स्पष्ट देखिएको छ । यसरी जहाज उडाउन नसकेको कारणले निगमलाइ पुगेको घाटा कम गर्न कुनै कदम चालेको पाईदैन ।
    निगमलाई कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषले प्रदान गरेको ऋणको सावा ब्याज समयमै तिर्न सकेको छैन । यसको कारणसमेत आएको छैन । यसरी समयमै साँवा ब्याज तिर्न नसकेर ती संस्थाहरुको ब्याज रकमनै पुँजीकरण गर्ने अवस्था आईसक्दा चुप लागेर बसेको आरोप खरेलमाथि लागेको छ ।
    सञ्चालक समिति बेखवर
    सामान्यतया यस्तो अवस्था आएमा सञ्चालक समितिलाई जानकारी दिएर समितिबाटै ब्याज पूँजीकरण गर्ने निर्णय गरि सोही अनुरुप अनुरोध गरिनु पर्ने नीतिगत ब्यवस्था हुन्छ । तर, सो अनुरुप भएको छैन । ऋणदाताको ब्याज दर महंगो भएको अभिब्यक्ति दिएको तर त्यसको बिकल्पमा सस्तो ब्याजदरमा ऋण लिने पहल गर्न सकेका छैनन् । निगमको अध्यक्ष तथा कार्यकारी भएको नाताले दिर्घकालिन ब्यापार योजनाहरु बनाई लागू गर्नुपर्ने उनको दायित्व हो । निश्चित अवधिमा निगमलाई यो प्रकारको अवस्थामा ल्याउन सक्छु भन्ने योजना बनाउनु आवश्यक हुन्छ । तर, खरेलले यो प्रकारको कुनै योजना मन्त्रालयमा पेश गरेका छैनन् ।
    छैन योजना तर्जुमा
    जहाजको ब्यवस्था,पूँजीको ब्यवस्थापन,निगमको मुनाफालगायतको योजना तर्जुमा भएको पाईदैन । सरकार तथा जनतालाई यसरी सेवा पु¥याएर सामाजिक उत्तरदायित्व निर्वाह गर्छु भन्नेजस्ता रणनैतिक योजना किन बनाउन नसकिएको भन्ने बारेमा पनि मन्त्रालयमा प्रश्न उठ्न थालेको छ । त्यसोत संघीय संसद, त्यस अन्र्तगतको तालुक समिति, नेपाल सरकार, बिभिन्न आवधिक योजनाहरुमा निगमलाई कम्पनीमा परिणत गरि चुस्त रुपमा संचालन गरिनुपर्ने सुझाब आएका छन् । तर, यसलाई सुधार गर्न कुनै पहल भएको छैन । निगमको ब्यवस्थापन बर्तमान अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बजारमा उत्कृष्ट हुन चुस्त ब्यबस्थापन हुनुपर्ने हो । जसको लागि उपयुक्त अन्र्तराष्ट्रिय बायुसेवा कम्पनीलाई ब्यवस्थापन साझेदारको रुपमा भित्र्याउनु भन्ने नेपाल सरकारको सुझाब आएको थियो । त्यसलाई पनि कार्यान्वयन नगरेकोमा पनि खरेलप्रति प्रश्न उठेको छ ।
    सम्पत्ति संरक्षण भएन
    निगमको नाममा देशका बिभिन्न स्थानहरुमा रहेका सम्पतीहरु उपयोगविहिन अवस्थामा छन् । ती सम्पत्तिको जगेर्ना गर्न बिभिन्न निकायबाट खवरदारी पटक पटक भएको छ । तर, त्यसको संरक्षणमा खासै पहल भएको छैन । निगममा संस्थागत सुशासन, पारदर्शिता, गोपनियता तथा आन्तरिक नियन्त्रण प्रणाली अत्यन्तैकमजोर रहेको बिभिन्न प्रतिवेदनमा आएको छ । त्यस्तो अवस्था हुँदा पनि सुधारको लागि कुनै कदम चालेको देखिएको छैन ।
    बरु कुनै स्थापित मान्यता नभई भनसुन र अवान्छित लाभको भरमा बिभिन्न स्थानहरुमा सरुवा र पदस्थापन गरेका छन् ।
    कर्मचारीमा अबिश्वास
    निगमको सेवालाई गुणस्तरीय र बिश्वसनीय बनाउन, कामदार तथा कर्मचारीहरुलाई उत्प्रेरित गर्नु प्रमुखको दायित्व हो । नराम्रो काम गर्नेलाइ दण्ड सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पारदर्शी कार्यसम्पादन मापदण्ड स्थापना गर्नु पर्नेमा केही निश्चित कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारमनै खाली मगाएर आफै भरेको भन्ने गुनासो आईरहेको छ । निगमको गन्तब्य बिश्लेषण क्षमता र समग्र ब्यवस्थापनको सम्बन्धनमा प्रधानमन्त्री केपी ओलीलेनै सार्वजनिक असन्तुष्टि ब्यक्त गरेका थिए । प्रधानमन्त्रीले सार्बजनिक रुपमा असन्तुष्टी व्यक्त गरि सक्दा पनि सुधारको दिशामा लाग्नुको सट्टा खरेल बिना सूचना बिदामा बस्ने गरेका छन् । बजारमा निगमको साख दिन प्रतिनि खस्कदै गईरहेको छ । सेवाको गुणस्तर मापनको कुनैपनि मापदण्ड सन्तोषजनक देखिँदैन । यस्तो अवस्थाबाट निगमलाई पार लगाउन थप नयाँ योजना निर्माण गर्नुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य र समन्वय गरि अगाडि बढ्नुपर्नेमा पूर्णतः स्वेच्छाचारी भएको खरेललाई आरोप लागेको छ । तालुक मन्त्रालयलाई कुनैपनि बिषयमा सोधखोज नगर्दा अझै समस्या परेको मन्त्रालय स्रोतले जनाएको छ ।

    जनप्रशासन पाक्षिक (१६ -३० मंसीर) बाट