• काठमाण्डाै‌ । चिकित्सकीय उपकरणको सही व्यवस्थापन गर्न बायोमेडिकल प्राविधिक जनशक्ति थप गर्न जोड दिइएको छ । हाल नेपालमा स्वास्थ्य सेवा प्रदायक संस्थामा रहेका उपकरणको मर्मत तथा चुस्त बनाइराख्ने जनशक्ति (बायोमेडिकल इञ्जिनीयर) ५०० को हाराहारीमा छन् । विश्वप्रसिद्ध चिकित्सकीय उपकरण उत्पादन गर्ने चिनियाँ कम्पनी मन्द्रे आर्थिक एवं प्रावधिक सहयोगको जनरल मेडिकल सप्लायर्स र बायोमेडिकल इञ्जिनीयरिङ फाउडेशनद्वारा आज यहाँ आयोजित बायोमेडिकल प्रविधि हस्तान्तरण र सेवासम्बन्धी तालिमका सहभागीले सो आवश्यकता आँैल्याउँदै उपकरणको सही व्यवस्थापनले मात्र बिरामीले राम्रो सेवा पाउने बताउनुभयो । सो कम्पनीले एनेस्थेसिया, भेन्टिलेटर, इन्फेक्सन पम्प, प्यासेन्ट मोसन, अल्टरसाउण्ड र ल्याप्रोस्कोपी सर्जरी जस्ता गुणस्तरीय उपकरण उपलब्ध गराउँदै आएको छ । साथै ती उपकरणको सही व्यवस्थापनकाबारे कम्पनीले पहिलोपटक सरकारी तथा निजी क्षेत्रमा विभिन्न अस्पतालमा कार्यरत बायोइञ्जिनीयरका लागि तालीमको आयोजना गरेको हो । तालीममा ६० जनाको सहभागिता रहेको थियो । नेपालमा वर्षेनी रु १५ अर्बभन्दा माथिका चिकित्सकीय उपकरण नेपाल भित्रिने गर्दछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थामा चिकित्सकीय उपकरणकोे सही व्यवस्थापनमा प्रमुख समस्या रही आएको छ । स्वास्थ्य संस्थाका उपकरण छिटोछिटो बिग्रिँदा बिरामी समस्यामा पर्दै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले कार्यक्रमको शुभारम्भ गर्दै कर्मचारी समायोजन प्रक्रिया समाप्त भएको हुँदा नयाँ कर्मचारीको दरबन्दी अध्ययन गर्दै बायोमेडिकल इञ्जिनीयरिङ पद थप्ने मन्त्रालयको तयारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा चिकित्सकीय उपकरणको अभाव हुँदैन, चिनियाँ कम्पनी मिन्ड्रले उत्पादन गरेका उपकरणलाई सस्तो मूल्यमा उपलब्ध नेपाललाई उपलब्ध गराएको छ ।” चिनियाँ कम्पनी मिन्द्रेका दक्षिण एशिया व्यवस्थापक डयानी जिङले आफ्नो कम्पनीद्वारा उत्पादन गरिएका उपकरणको प्रयोगका बारेमा आगामी दिनमा नेपालमा तालीम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । कम्पनीका पिटर जिङ र जिङ सुवानले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उपकरण अति आवश्यकतापर्ने बताउँदै उपकरणको सही प्रयोगका बारेमा बायोमेडिकल इञ्जिनीयरलाई समयसमय तालीमको आवश्यकतापर्ने उल्लेख गर्नुभयो । ती विज्ञद्वयले सहभागीलाई प्रशिक्षणसमेत दिनुभएको थियो । बायोमेडिकल इञ्जिनीयरिङ फाउण्डेशनका अध्यक्ष विकास श्रेष्ठले सरकारी अस्पतालमा उपकरणको सही व्यवस्थापनका लागि बायोमेडिकल इञ्जिनीयरको दरबन्दी बढाउन माग गर्नुभयो । जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जयकृष्ण श्रेष्ठले चिकित्सकीय उपकरणको सही प्रयोगका बारेमा निरन्तर तालीम र उपकरणको सही व्यवस्थापन गर्न सरकारलाई आफ्नो कम्पनीले सहयोग गर्ने जानकारी दिनुभयो । तालीमका सहभागीले उपकरणका साथमा तालीम भएमा सही प्रयोगमा समस्या नआउने बताउनुभएको थियो । रासस