• काठमाडौं ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्नेहरुबिरुद्ध छानबिन सुरु गरिरहेको चर्चा परिचर्चा हुँदैआएको छ । राजस्व समूहका शाखा अधिकृतदेखि सहसचिवहरुमध्ये अकूत सम्पत्ति आर्जन गर्नेमा पहिलो पंक्तिमा केदार पनेरु र निर्मलहरि अधिकारी पर्नुपर्ने हो । तर उनीहरुको नामसमेत चर्चामा आएको छैन । हुन त अख्तियारले आधिकारिक रुपमा कस–कसको छानबिन भइरहेको छ, त्यो गोप्य नै राख्छ । तर महत्वपूर्ण र आकर्षक भन्सार तथा राजस्व अनुसन्धान विभागमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा सहसचिवद्वय पनेरु र अधिकारीको नाम अग्रपंक्तिमा आउँछ । पनेरुले रसुवा भन्सारको कार्यालय भवन खरिदमा नै करोडौं कमिसन खाएको आरोप छ ।

    १ करोड पर्ने भवनलाई १ करोड ७० लाखमा खरिद गरी उनले त्यसमै ठूलो कमिसन खाएका छन् । पनेरु करिब ३ बर्ष रसुवा भन्सारको प्रमुख भए । त्यो अवधि रसुवा भन्सारको इतिहासमा तस्करीको स्वर्णकाल नै मानिन्छ । सुनदेखि नक्कली कष्मेटिक दैनिक कन्टेनरका कन्टेनर रसुवा नाकाबाट भित्रियो । अवैध सुन पनि ठूलो मात्रामा भित्रने गरेको त काठमाडौंमा ८८ किलो एकपटक र अर्कोपटक १७ किलो सुन बरामदले नै पुष्टी गरिसकेको हो । पनेरुको कार्यकालमा रसुवा भन्सारबाट १५ लाख भन्सार शुल्क तिर्नुपर्ने कन्टेनरको न्यून बिजकीकरण गरी बढीमा १ लाख रुपैयाँसम्म तिरेर अरबौं रुपैयाँको सामान आयात भएको थियो । उनले ३ बर्षका दौरान रसुवा भन्सारबाट मात्रै ३५ खोका भित्र्याएको राजस्व समूहभित्रै चर्चाको बिषय बन्ने गरेको छ । राजस्व समूहमा बसी केही लाख र करोड कमाउनेलाई बयान लिने अख्तियारले पनेरु जस्ता अथाह आर्जन गर्नेलाई अकूत सम्पत्तिमा पहिला छानबिन गरेपछि मात्र निष्पक्षरुपमा लिनेछन् । उनीजस्तालाई छानबिन गरेमा अख्तियारको विश्वसनीयता पनि बढ्ने र राजस्व चुहावट गर्नेहरुलाई नसिहत पनि हुनेछ । अर्थमन्त्रालयका कर्मचारी भन्छन्– ‘पनेरुलाई छाडेर अरुको सम्पत्ति छानबिन गर्ने कुरा सानालाई ऐन ठूलालाई चैन भन्ने उखान जस्तै हो ।

    राजस्व अनुसन्धान विभागको महानिर्देशक महेशप्रसाद दाहाल हुँदा पनेरु नै छायाँ डीजी थिए । उनले त्यहाँ हुँदा पनि अरबौं राजस्व मारी लाभ लिए । भन्सार र राजस्वमा बसी आर्जन गरेको अथाह सम्पत्ति उनले तीनकुनेमा रहेका ससुरालीहरुको नामबाट लगानी गरेको आरोप छ । उनका ससुरालीतिर पनि अख्तियारको छानबिनको सुई तेर्सिएमा धेरै कुरा खुल्नेछ । राजस्वका इमान्दार र कर उठाउनेहरुलाई बयानमा बोलाउने साटो पहिला पनेरु र अधिकारीको सम्पत्ति छानबिन गर्ने आँट अख्तियारले देखाउन सक्नुपर्ने तर्क अर्थका कर्मचारीको छ । राजस्व समूहबाट अकूत सम्पत्ति आर्जन गरेका पनेरु हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख छन् । उनले कर्मचारी समायोजनमा समेत चलखेल गरी फाइदा लिएको आरोप छ । संघीय मामिलाबाट उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने दाउमा छन् । यद्यपि प्रधानमन्त्री केपी ओलीकै जिल्लाका राजस्वका महानिर्देशक दीर्घराज मैनालीलाई पल्टाउन नसकेपछि उनी अहिले संघीय ममिलामै बसिरहेका छन् ।


    त्यसैगरी सहसचिव निर्मलहरि अधिकारी तातोपानी भन्सारदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदासम्म कमाएको अकूत सम्पत्ति पनि अख्तियारले छानबिन गरिरहेको स्रोतले बतायो । स्रोतका अनुसार सहसचिव अधिकारीले तातोपानी भन्सार प्रमुख हुँदा राखेका भान्से होमप्रसाद तिमल्सिना(नवराज)लाई लगानी गरेका छन् । सहसचिव अधिकारीले लगानी गरेपछि नवराज छोटो समयमा उदाएका नवधनाढ्य ब्यापारी हुन् । राजस्व अनुसन्धान विभागको महानिर्देशक अधिकारी भएको बेलामा तिमल्सिनाले न्यून बिजकीकरण गरी मासिक अरबौंका सामान आयात गर्ने गरेका थिए । २०५८ मा अख्तियारले पक्राउ गर्न खोज्दा भागेका भरत सुवेदी तातोपानी भन्सार प्रमुख हुँदा सहसचिव अधिकारी भन्सार अधिकृतका रुपमा गएका थिए । सुवेदीले नै उनलाई लगेका थिए । पछि उनी तातोपानी भन्सार प्रमुख भए । त्यसपछि उनी सहसचिव बढुवा हुनासाथ लोकमानसिंह कार्कीको दबाबमा २०७० मा राजस्व अनुसन्धान विभागको महानिर्देशक भए । उनलाई अख्तियारबाट पदमुक्त भएका लोकमानसिंह कार्कीले नै राजस्वको महानिर्देशक बनाएका थिए । त्यसपछि लोकमान र निर्मलहरिको सेटिङमा रसुवा र तातोपानी भन्सारबाट नवराज तिमल्सिनाहरुले एकछत्र तस्करीको लाइन चलाएर अरबौंका सामान आयात गरेको त्यतिबेलाको रजगज देखेका ब्यापारी बताउँछन् ।


    अख्तियार प्रमुख लोकमानसिंह कार्कीको आशीर्वाद त निर्मलहरि अधिकारीलाई थियो नै उनको बहिर्गमनपछि आएका दीप बस्नेतका पीए लक्ष्मण बाँस्तोलाको लगानीका मेस र निर्मलहरि अधिकारीका मेसका तिमल्सिनाका सामान विनाभन्सार नै ट्रकका ट्रक भित्रिएका थिए । भन्सार तिरे पनि उनीहरुले ब्रान्डेड सामानहरु पनि न्यून भन्सार लाग्ने सामानको भन्सार तिर्ने गरेका थिए । त्यतिबेला राजस्वका डीजी र अख्तियारका ट्रक भनेपछि कसले छुने ? त्यतिबेलाका रसुवा भन्सारका एक भन्सार अधिकृतले अनुभव सुनाए ।
    निर्मलहरि अधिकारीको अकूत सम्पत्ति पहिलो पटक अधिकृत हुँदा तातोपानी भन्सारमा बसेर कुस्त कमाई गरी २०५६–०५७ तिरै तत्कालीन एयरपोर्ट भन्सारका प्रमुख द्वारिका उपाध्यायको चावहिलस्थित करिब एक रोपनी घर र जग्गा ८० लाखमा किनेका थिए । उनले २०५६ मै ८० लाखमा घर किन्न सक्ने हैसियत राजस्व समूहमा बसी बनाइसकेपछिको कमाइ ब्यापार र भक्तपुरमा १० रोपनी भन्दा बढी जग्गा खरिद गरी कृषि फार्मलाई भाडामा दिएको स्रोतको भनाइ छ । उक्त कालिज फार्ममा राजस्व अनुसन्धान विभागबाट अवकाश पाएका अर्का अकूत सम्पत्ति आर्जन गर्ने अधिकृत उद्धव राउतसमेत पार्टनर हुन् । निर्मलहरि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनका निकट रहेर अकूत कमाउनेमा उपसचिव तीर्थ चिलवालको नाम पनि आउने गर्दछ ।


    त्यसैगरी राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा उपसचिव सेवन्तक पोखरेलको नाम पनि अग्रपंक्तिमा आउँछ । उनीसँग त २५ करोड नगदै भएको चर्चा उनका समकक्षीहरुबीच चल्ने गरेको छ ।
    भैरहवा भन्सारमा बसी एउटै प्रज्ञापनपत्रबाट पटक पटक सामान आयात गरी राजस्व मार्ने तत्कालीन भन्सार प्रमुख भूपाल शाक्यको सम्पत्ति पनि छानबिन हुन सकेको छैन । उनको मातहत काम गरेका भन्सार अधिकृत मानप्रसाद विक विरुद्ध अख्तियारले आयभन्दा बढी सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरे पनि शाक्यलाई भने उन्मुक्ति दिएको छ । समशेर मियाँ नामक ब्यापारीसँग मिलेर भन्सार नै नतिरी करोडौं करोडका सामान भैरहवा भन्सारबाट नेपाल भित्रने गरेका थिए । भूपाल शाक्यले भ्रष्टाचारबाट आर्जित करोडौं रुपैयाँ श्रीमतीमार्फत् मिटरब्याजमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार आफन्तको नाममा घरजग्गा खरिद गर्दा खाइदिने र आफ्नो वा श्रीमतीका नाममा किन्दा अख्तियारको निगरानी हुनेभएपछि उनले श्रीमतीमार्फत् मिटरब्याजमा लगानी गर्दैआएका छन् ।


    त्यस्तै ब्यापारीलाई दुःख दिएर असुली गरी करोडौं आर्जन गर्ने राजस्वका उपसचिवहरुमा धु्रव पोखरेल, भद्रपुर आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत बोलराज आचार्य पनि हुन् । पूर्वअर्थसचिव हुँदै मुख्य सचिव भएका विमल कोइरालाको जोडमा २०५९ मा आचार्यको पहिलो पोष्टिङ ३ नम्बर कर कार्यालयमा भएको थियो । दोस्रो पोष्टिङ राजस्व अनुसन्धान विभाग र तेस्रो बुटवलमा भयो । अर्थमन्त्रालयका तत्कालीन सहसचिव आत्माराम पाण्डेले उनको सरुवा बिराटनगर कर कार्यालयमा गरिदिए । उनले २ नम्बर कर कार्यालय बबरमहलमा सरुवा मागेका थिए । फेरि तत्कालीन मुख्यसचिव भोजराज घिमिरेको सोर्स लगाएर २ नम्बरमै सरुवा भए । २ नम्बरमा नगरी बिराटनगर सरुवा गरिदिएको भनेर भोजराज घिमिरेले आत्माराम पाण्डेको कार्यसम्पादन मूल्यांकन नम्बर काटिदिए । जसका कारण पाण्डे आफ्नो समूहभन्दा २ बर्ष ढिला सचिव बढुवा हुुनुपरेको थियो । आचार्य त्यसपछि १ नम्बर करमा सरुवा भए । १ नम्बरपछि हेटौंडा कर हुँदै बढुवा भएर पहिलो पोष्टिङ माओवादी नेतालाई घुसको बिटो दिएर भद्रपुरमा भएका छन् । आचार्यजस्ता जागिरमा प्रवेश गरेदेखि नै आकर्षक कर र राजस्वमा बसी अथाह सम्पत्ति आर्जन गर्नेतिर पहिला जानु जरुरी रहेको अर्थका कर्मचारी बताउँछन् ।

    (बुधबार साप्ताहिकबाट)