• सिन्धुपाल्चोक ।

    मध्यभोटेकोशी जलबिद्युत आयोजना निर्माण सुरु भएको ६ बर्ष लाग्यो । तीन बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको यो आयोजनाको काम अहिले आधा पनि सकिएको छैन ।
    व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने लक्ष्य राखिएको आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु भएको हो । कामको ढिलाईले अहिले २१ अरव लगानी पुग्ने अनुमान गरिएको छ । यही अनुपातमा काम हुने हो भने आयोजना सम्पन्न हुँदा ३० अरव रुपैयाँ लगानी पुग्ने भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको अहिलेसम्म ४५ प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।

    आयोजनामा चिलिमेको ३८ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक÷एक प्रतिशत संस्थापक सेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइने गरी आयोजनाको काम सुरु भएको हो । यो जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाबासी र सर्वसाधरणसमेतको सेयर लगानीमा १ सय २ मेगावाट क्षमताको निर्माणाधीन छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन गर्ने योजना रहेको छ । चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना जिल्लामा सबैभन्दा ठूलो हो । आयोजनाको बाध साविक मार्मिङ गाविस ९ (हाल भोटेकोशी ५ चाकुमा ) र पावर हाउस बाह्रबीसे नगरपालिकाको जम्बुमा रहनेछ । यसको सुरुङको लम्वाई ७.२ किलोमिटर लामो रहेको छ ।


    पाँच बर्षमा आधा काम भएन
    तीन बर्षमा सक्ने योजना रहेपनि अहिले आयोजनाको बाँध स्थलमा खन्ने र स्लोभ बनाउने कार्य सम्पन्न गरी मुख्य बाँध निर्माण गर्न नदी डाइभर्सन कार्य गरिएको छ । सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ मात्रै खनिएको छ । विद्युतगृहका लागि खन्ने काम सकिएको छ । तर, अहिले पुनः काम रोकिएको छ ।

    सुनसान ड्याम निर्माण क्षेत्र


    कूल चार किमी लामो २२० केभीको ट्रान्समिसन लाइनको सर्वेक्षण सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजनाले विसं २०७६ को असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । तर, काम रोकिएका कारण यो समयमा काम सम्पन्न हुने अवस्था छैन । हालसम्म सो आयोजनाको समग्र निर्माण कार्य प्रगति करीब ४२ प्रतिशतमा रहेको कम्पनीलेनै जानकारी दियो । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । स्थानीयवासीका अनुसार कामको जिम्मा पाएको चिनियाँ ठेकेदार पक्ष र आयोजनकै कारण काम ढिलाई भएको हो । ‘कामको गती बढेको देखिएन,मैले १ महिनादेखि कामको अनुगमन गरे तर, यही तरिकाले काम गर्ने हो भने दश बर्षमा पनि काम सकिँदैन’,–भोटेकोशीका गाउँपालिकाका अध्यक्ष पौडेलले भने,–‘स्थानीयको लगानीमा आयोजनाको कर्मचारी मोटाउने काम मात्र भईरहेको छ ।’

    आयोजनाले भने जुरे पहिरो, महाभूकम्प, नाकाबन्दी एवं बाढीका कारण निर्माणमा ढिलाइ भएको प्रतिकृया दिएको छ ।