• काठमाडौं ।

    समायोजनबाट आएका कर्मचारीलाई स्थानीय तहले हाजिर गर्न रोक लगाएको छ। ललितपुर महानगरपालिकामा समायोजनबाट आएका सातौँ तहका लेखा तथा प्रशासन समूहका कर्मचारीले हाजिरीमा रोक लगाएको हो । यस वाहेक तराईका बिभिन्न जिल्लामा पनि हाजिरीमा रोक लगाएपछि कर्मचारी फर्किएका छन् ।
    रौतहटका नगर प्रमुखहरूले भने हाजिर गर्न नदिएर पाँच जना प्रशासकीय अधिकृतहरूलाई फर्काई दिएका छन् । वृन्दावन नगरपालिका, बौधीमाई नगरपालिका, कटहरिया नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा नायव सुब्बाले नै कार्यालय प्रमुख भएर काम गर्दै आएका थिए । राजपुर नगरपालिकामा हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गोपालनाथ श्रेष्ठले आफूलाई नगर प्रमुखले हाजिर नगराएको बताए । असार मसान्तपछि मात्र हाजिर गराउने नगर प्रमुख सकिल अख्तरले बताएपछि आफू फर्किएको श्रेष्ठले जानकारी दिए । यता, नगर प्रमुख अख्तरले आर्थिक वर्षको अन्तिम अवस्थामा नयाँ कर्मचारी आउँदा काम प्रभावित हुने हुँदा अहिलेलाई उनलाई फर्काइएको र असार मसान्तपछि नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउने उनले बताए । उक्त नगरपालिकामा नायव सुब्बा जगतप्रसाद साहले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका छन् । यसैगरी वृन्दावन नगरपालिकामा हाजिर गर्न पुगेका नयाँ प्रमुख प्रशासकीय अधिकृत ओमनारायण झा पनि हाजिर नै नगरी फर्किएका छन् । त्यहाँ पनि नगर प्रमुख रामस्नेही यादवले यो आर्थिक वर्ष सकिएपछि मात्र हाजिर गराउने बताएपछि झा मन्त्रालय नै फर्किएका हुन् । उक्त नगरपालिकामा नायव सुब्बा शिवध्यान यादव प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । त्यस्तै, यमुनामाई गाउँपालिकाले पनि त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुष्पचन्द्र घिमिरेलाई फर्काइदिएको छ । उक्त गाउँपालिकामा नायव सुब्बा शिवपुजन यादव प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । यसैगरी कटहरियाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका रामलाल सहनी पनि त्यसैगरी हाजिर नै नगरी फर्किएका छन् । उक्त नगरपालिकामा नायव सुब्बा राजदेव मुखिया कार्यालय प्रमुख भएर कामकाज गर्दै आएका छन् । त्यस्तै, बौधीमाई नगरपालिकाका लागि दिलीपकुमार झा आएका थिए। उनी पनि हाजिर नगरी फर्किएका छन् । १६ नगरपालिका र दुई गाउँपालिकासहित १८ स्थानीय तह रहेको रौतहटमा छवटा स्थानीय तहमा नायव सुब्बाले नै कामकाज गर्दै आएका छन् । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवको दरबन्दी भएको भए तापनि नायव सुब्बाहरूले कामकाज गर्दै आएका छन् । विभिन्न नगरपालिकामा नायव सुब्बाले नै काम गरिरहेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयले पाँच जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो ।
    मन्त्रालयको दबाबपछि ललितपुर महानगरले हाजिर गराएको थियो । ललितपुर महानगरले गत फागुन १० मा श्रेणीविहीन आठौँ तहसम्मका कर्मचारीलाई ग्रेडवृद्धि तथा एक तह बढुवाको निर्णय गरेको थियो। तर उसको निर्णयलाई संघीय मामिला तथा सामान्य मन्त्रालयले गैरकानुनी भनेर बदर गर्न निर्देशन दिएको छ। निजामती सेवा ऐनको तह स्केलवृद्धि मापदण्डलाई तोकेर महानगरले कर्मचारीको वृत्तिविकासको निर्णय गरेको थियो।