• विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग झन्डै ४ अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

    सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) सम्झौता अन्तर्गत ४ अर्ब १६ करोड ४० लाख डलर खर्च हुने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    कुवेतका प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले यो परियोजना कुवेतका लागि रणनीतिक महत्त्वको रहेको उल्लेख गर्दै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारमा देशको उपस्थिति सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

    प्रधानमन्त्री अल–सबाहका अनुसार मुबारक अल–कबीर बन्दरगाह सम्पन्न भएपछि कुवेतको भूमिका विश्वव्यापी आपूर्ति शृङ्खलामा अझ मजबुत हुनेछ र देशलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।

    यसअघि सन् २०२३ मा कुवेतले मुबारक अल–कबीर बन्दरगाह, आवास विकास, पानी प्रशोधन तथा नवीकरणीय ऊर्जाजस्ता परियोजनाहरूमा चीनसँग सात वटा समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । ती सम्झौताले दुवै देशबीच दीर्घकालीन सहकार्यको आधार तयार पारेका थिए ।

    चीनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा विकास गरिएको विशाल विश्वव्यापी पूर्वाधार परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ ९बीआरआई० को हिस्साका रूपमा पछिल्लो दशकमा मध्यपूर्व क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ ।