• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । हिजो आइतबार काठमाडौं उपत्यकामा मात्र १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं उपत्यकाका १ हजार ५३१ सहित देशभरबाट २ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ । तीमध्ये हालसम्म ६५ हजार २०२ जना निको भएका छन् । २४ घण्टाको अवधिमा १ हजार १ सय ३३ कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकी सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ जना पुगेको सो अवसरमा प्रवक्ता गौतमले बताए ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसरी नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी यस अवधिमा १३ हजार ७८१ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।